पार्टीमा देखिएको विवाद समाधान भएर पार्टी एक ढिक्का हुने

परराष्ट्रमन्त्री / प्रदीपकुमार ज्ञवाली

१३ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज गुल्मीमा बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र सामाजिक सन्जालहरु नरङ्ग्याउन सुझाए । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने उनले बताए ।

भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताउँदै उनले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ ।’ सुनकाण्ड, ललिता निवास, भ्याट छली काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले वर्तमान सरकारले कारबाही गरेको देखेर देशमा भ्रष्टाचारीहरु अताल्लिएको बताए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य, पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण विष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी विभाजन नहुने बताए । पार्टीमा देखिएको विवाद समाधान भएर पार्टी एक ढिक्का हुने बताए ।