गुल्मीमा जिप दुर्घटना ५ को मृत्यु २ गम्भीर घाइते

१२ मंसिर, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले दिएको जानकारी अनुसार दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले रहेका छन् ।

त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । प्रहरीले चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको छ ।