११ मंसिर, काठमाण्डौं । कोरोना कहरबिच उच्च स्वास्थ्य सतर्कता अपनाउँदै यहि मंसिर ८,९ र १० गते नेकपा (माओवादी केन्द्र) को काठमाडौं बौद्धमा केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेला सम्मपन्न भएको छ । उक्त बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न माओवादी केन्द्रले भोलि पत्रकार सम्मेलन आयोजना गरेको छ ।
बैठक तथा विशेष राष्ट्रिय भेलाले लिएका निर्णयहरु, राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, माओवादी केन्द्रको वैचारिक संगठनात्मक योजना, कार्यक्रम र महान जनविद्रोहको तयारीमा जुट्न जनआह्वान लगाएतका विषयमा जानकारी दिन उक्त पत्रकार सम्मेलन गर्न लगिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकीले प्रेस सेन्टर नेपालसँगको कुराकानीमा पत्रकार सम्मेलनको बारेमा जानकारी दिदै भने–‘पार्टीको बैठक तथा भेला विषय परिस्थितिमा पनि भव्यताका साथ सम्पन्न गरियो, त्यसले राष्ट्रियता, जनतन्त्र, जनजीवीका समस्याहरुको समाधानका लागि देशव्यापी जनसंघर्षको अनिवार्य तयारीमा जुट्ने कार्यभार हाम्रो अगाडि ल्याएको छ । त्यसका विविध विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन गर्न लागेका हौ ।’
माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीका अनुसार उक्त पत्रकार सम्मेलन अनामनगरस्थित संवाद डबलीमा भोलि दिउँस ठिक एक बजेबाट शुरु हुनेछ । पत्रकार सम्मेलनमा बैठकका निर्णयको सार्वजनिकिकरण गर्नुका साथै विभिन्न पार्टी संगठन परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा समाहित हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाईको कार्यक्रम समेत राखिने बताइएको छ ।
पछिल्लो समय माओवादी केन्द्रमा वैचारिक राजनीतिक रुपमा तत्कालिन नेतृत्वमा देखिएको विचलिन र त्यसबाट आएको विभाजनले आन्तरिक पार्टी संगठन कमजोर भयो भन्ने हल्ला चलिरहँदा त्यसलाई माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले भने पार्टीमा वैचारिक एकता, संगठनमा एकता, बाहिरी क्रान्तिकारी शक्तिबिच बलिायो मोर्चाबन्दी र ब्यापक रुपमा क्रान्तिकारी ध्रुविकरण भैरहेको तर्क गरेका छन ।
भोलिको पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलको जिम्मेवारी परित्याग गर्दै ध्रुविकृत हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाई दिइने बताइएको छ । श्रोतका अनुसार पछिल्लो समय माओवादी केन्द्रमा देशव्यापी वृहत ध्रुविकरण भैरहेको छ ।
माओवादी केन्द्रका निवर्तमान अध्यक्ष गोपाल किरातीमा देखिएको गम्भिर वैचारिक राजनीतिक विचलनता, संगठनात्मक अराजकता र त्यसमा यसअघि असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकले गरेको ऐतिहासिक निर्णय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।
माओवादी केन्द्रले उक्त पोलिटव्युरो बैठकबाट निवर्तमान अध्यक्ष किरातीले आध्यात्मवादी बाटोमा पार्टी संगठनलाई फसाउने र मालेमावादी पथ प्रदर्शक सिद्धान्तबाट विचलित भएको ठहर गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो ।
त्यस्तै पछिल्लो समयमा किरातीले अबैधानी, गैह्रजिम्मेवारीपूर्ण ढंगले पार्टी विघटन गरेको भ्रामक दुश्प्रचार गरेको कारण माओवादी केन्द्रले हालै बैठकसँगै विशेष राष्ट्रिय भेला सम्पन्न गरेर कर्णजीत बुढाथोकीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
चौतर्फि रुपमा वैचारिक विचलन, संगठनात्मक अराजकतामा फसेको र संशोधनवादी दक्षिणपन्थीबाटोमा पतन उन्मुख रहेको भन्दै तत्कालिन अध्यक्ष किरातीलाई आरोप आएपछि पार्टीको कारबाहीबाट बच्न किरातीले पार्टीको केन्द्रीय समिति बैठकमा आत्मआलोचनाको पत्र समेत पठाएका थिए । बैठकमा सहभागि नेताहरुले उनको आत्मआलोचनाबारे समेत छलफल गरेका थिए ।
बैठक तथा भेलाले ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्यूरो, १५ सदस्यीय स्थायी समिति निर्वाचित गरेको बताइएको छ । त्यस्तै पार्टीको वरिष्ठ नेतामा तिलक थापा मगर, उपाध्यक्षमा रंगनाथ ढकाल लगाएतलाई निर्वाचित गरेको छ ।
माओवादी केन्द्रले भोलि आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुका साथै सम्पूर्ण मिडिया, सञ्चारकर्मिहरु, पत्रकारहरुलाई उपस्थित हुन र समाचार सम्प्रेषण गरिदिनका लागि अनुरोध समेत गरेको छ ।