पारस शाहको छातीमा समस्या देखिएपछि होटलमै उपचार हुँदै

१० मंसिर, चितवन । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ ।

सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए ।

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ ।

डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन् । अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए ।

इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।

‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले सेतोपाटीसँग भने, ‘उहाँले केही समय होटलमै आराम गरेर हेरौं भन्नुभएको छ ।’

शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए ।