प्याराग्लाइडिङको रेड सस्तिए पछि पोखरामा पर्यटन भरीभराउ

९ मंसिर,पोखरा । लामो समयको लकडाउनपछि पोखरामा सम्भवतः सबैभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गर्न ओइरिएका छन् । पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडेका छन् ।
अधिकांश काठमाडौं, बुटवल, चितवन लगायत पूर्वी नेपाल र पश्चिम नेपालका पनि विभिन्न जिल्लाबाट प्याराग्लाइडिङ उडान भर्न आएका छन् । विशेषगरी युवा जमातको प्याराग्लाइडिङमा आकर्षण छ ।
व्यवसाय छोडेर अन्यत्रै पलायन भइसकेका प्याराग्लाइडिङ पुनः यही व्यवसायमा फर्किएका छन् । दशैं यता प्याराग्लाइडिङमा विशेष छुट अफर ल्याएपछि प्याराग्लाइडिङ गर्नेहरुको दर ह्वात्तै बढेको छ ।

अफिस बन्द गरेर पलायन हुने अवस्थामा पुगेका व्यवसायी पुनः व्यवसायमा कसरी फर्किए ? यस विषयमा नेपाल हवाई खेलकुल संस्था(ना)ले प्याराग्लाइडिङ यति छिट्टै ब्युँतिने आँकलन व्यवसायीले नगरेको बताएको छ ।

संस्थाका महासचिव बलराम आचार्यले लामो समय सञ्चालनमा आउन्न होला भनेरै व्यवसायी अफिस थन्क्याएर पलायन हुने अवस्थामा पुगेको बताए । ‘यसबाट तत्काल घाटा पूर्ति गर्न सकिन्न कि भन्ने अवस्था थियो । हामीले यो मूल्यांकन गर्न सकेका थिएनौं । आन्तरिक पर्यटकबाट यति धेरै युवायुवती स्वदेशी पर्यटक आकर्षित भएर आउनुहुन्छ र यति चाँडै सञ्चालनमा आएर सहज होला भनेर मूल्यांकन गर्न सकिएन’, उनले भने, ‘कतिपय कम्पनी ब्याक भए पनि अहिले फेरि पुनः सुचारु भएका छन् ।’

प्याराग्लाइडिङ उडान भर्नेहरुको चाप बढेपछि (ना)ले उडान तालिका नै निकालेको छ । नयाँ समयतालिका अनुसार बिहान साढे ९, १० र ११ गरी तीन राउन्ड एउटा कम्पनीले २ पटक उडान भर्न पाउने छ ।
प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको फ्लो बढेसँगै उडान तालिका मिलाउनै हम्मेहम्मे परेको उनले बताए । बिदाको दिनमा अझ बढी पर्यटकहरु आउने महासचिव आचार्यले सुनाए । अन्य दिनमा पनि पर्यटकहरुको चाप पर्याप्त आउने गरेको उनले बताए । ‘हामी अत्यन्तै खुसी छौं । हामीलाई चाहिने जति पर्यटक आई रहनु भएको छ,’ उनले भने ।

लकडाउन अघि प्याराग्लाइडिङमा पर्यटकहरुले त्यति रुचि नदेखाए पनि लकडाउनपछि प्याराग्लाइडिङमा पर्यटकहरुको रुचि बढेको छ । प्याराग्लाइडिङ उडान मूल्य कम गरेसँगै पर्यटकहरुको फ्लो बढेको उनले सुनाए । प्रचार, प्रसारले पनि प्याराग्लाइडिङप्रति आकर्षण बढेको उनको जिकिर छ ।

यसअघि नेपालीको लागि ७ हजार र विदेशी पर्यटकका लागि ८ हजार भाडादार कायम गरिएकोमा अहिले ३ हजारमा उडान भइरहेको छ । जबकी व्यवसायीहरुले ३ हजार रुपैयाँमा पनि उडान गराउन सक्छन् । ३ हजार रुपैयाँमा पनि तपाईंहरुले उडान त भर्न सक्नु हुने रहेछ, मूल्यमा किन यति धेरै भिन्नता ? हामीले सोध्यौं, जवाफमा उनले भने, ‘हामीले नाफा कमाउनकै लागि व्यवसाय गरेका हौं । अहिले यत्तिकै अफिस खर्च बढाएर राख्नु भन्दा पनि नाफै नभए पनि कमसेकम अपरेशन कष्ट मात्रै उठाएर पनि सञ्चालन गरौं । पर्यटनलाई रिभाइभ गरौं भनेर मूल्यमा कमी गरेका हौं ।’ उनका अनुसार प्याराग्लाइडिङ उडान मुल्य पुनः बढाइने छ ।

पर्यटकीय गतिविधि छ है भन्ने सन्देश दिनकै लागि नाफा नराखि उडान भरेको उनले जिकिर गरे ।

पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिरहेका छन् ।
पछिल्लो एक महिना यता पोखरामा कोरोना संक्रमितको दर पनि ह्वात्तै बढेको छ । जसले संक्रमणको दर थप फैलिने जोखिम पनि बढाएको छ । तर, प्याराग्लाइडिङ व्यवसायीको संस्था (ना) ले सुरक्षा सतर्कतामा पूर्ण कन्सस रहेको जिकिर गरेको छ ।