जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश दिएकोले प्रधानमन्त्री र सभापति देउवाबीचको भेटको खासै अर्थ छैन

कांग्रेस सांसद / प्रकाशमान सिंह

८ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटघाटको कुनै अर्थ नहुने बताएका छन् ।

जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश दिएकोले प्रधानमन्त्री र सभापति देउवाबीचको भेटको खासै अर्थ नरहने उनले बताएका हुन् ।

उनले कांग्रेस प्रतिपक्षकै भूमिकामा रहने पनि बताएका छन् ।

सत्ता चलाउने जनादेश जनताले पाँच वर्षलाई नेकपालाई दिएको सिंहको भनाइ छ ।
नेकपाभित्र देखिएको विवादमा कांग्रेसको कुनै सरोकार नरहेको सिंह बताउँछन् ।

‘नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन,’ उनले भने, ‘कांग्रेसलाई जोडेर अनावश्यक हल्ला चल्यो । हल्लाको पछि नलाग्नू ।’

सोमबार शंखमुलमा आयोजित एक कार्यक्रममा नेता सिंहले झण्डै दुई तिहाइ जनमत पाएको सरकारले जनअपेक्षाअनुसार काम नगरेको पनि बताएका थिए ।

आन्तरिक कलह र कुर्सीको खेलमा नेकपा अल्झेको पनि सिंहको भनाइ छ ।