बालुवाटार ललिता निवास प्रकरणमा माधव नेपाल बिरुद्ध परेको रिट हेर्न नभ्याइने सुचीमा

७ मंसिर, काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालबिरुद्ध मुद्दा दायर नभएको बिषयमा अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको रिटको सुनुवाई आइतबार भएन । न्यौपानेले २०७६ माघ २२ मा दायर गरेको रिटको पेसी आइतबारलाई तोकेर सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिएको थियो । तर अग्राधिकार प्राप्त रिटलाई सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राखेको छ ।

अख्तियारले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै न्यौपाानेले रिट दायर गरेका थिए ।

जसको पेशी आइतबारलाई तोकिएको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासमा उक्त रिटको सुनुवाई हुँदै थियो । तर रिटको सुनुवाई नगरी सर्वोच्च्ले हेर्न नभ्याइने सूचीमा राखेको छ ।