पार्टीभित्रको विवादले फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री र शेरबहादुर बीच बालुवाटारमा घन्टौ छलफल

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

हिजो शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखा परेका पछिल्ला विवादबारे पनि कुरा निकालेको स्रोतको दाबी छ ।

पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि जानु पर्ने विषयमा पनि प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको स्रोतले बतायो ।

बालुवाटारको छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी रहेको स्रोत बताउँछ ।

कांग्रेस नेता लेखकले भने भेटमा आफू सहभागी भएको कुरा स्वीकारेनन् ।

प्रधानमन्त्री र सभापति देउवाबीच भेटवार्ता भएको भन्ने सुने पनि आफू उक्त छलफलमा सहभागी नभएको नेता लेखकले बताए ।
‘प्रधानमन्त्री र सभापतिजीबीच भेटवार्ता भएको भन्ने मैले पनि सुनेको हुँ,’ लेखकले भने, ‘के विषयमा कुराकानी भएको भन्ने मलाई थाहा छैन । म भेटवार्तामा सहभागी पनि थिइनँ ।’