Breaking News

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ कार्यसमितिका लागि १२७ जनाको उम्मेदवारीे

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासङ्घको आसन्न चुनावमार्फत् चयन हुने छुट्टाछुट्टै कुल ६४ पदका लागि एक सय २७ जना व्यवसायीहरुले आकांक्षा देखाएका हुन् ।

महासङ्घको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको छ ।

जसमध्ये महासङ्घको वरिष्ठ उपाध्यमा दुई उम्मेदवारी चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ ।

त्यस्तै, महासङ्घको उद्योग वाणिज्य समूह तर्फको उपाध्यमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र सङ्घाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

यता, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । मुलुक सङ्घीय राज्य संरचनामा गएसँगै महासङ्घको नेतृत्वमा पनि सातवटै प्रदेशबाट एक–एक जना सदस्यले भाग लिन पाउने गरी व्यवस्था गरिएकोमा ७ वटै प्रदेशबाट आ–आफ्नो दाबी प्रस्तुत गर्दै नयाँ कार्यकारिणी समितिका लागि प्रदेशबाट मात्र १५ जनाको उम्मेदवारी परेको छ । जसमध्य प्रदेश १ बाट एक मात्र उम्मेदवारी परेका राजेन्द्र राउत निर्विरोध चयन भइसकेका छन् । यस्तै अर्का द्विराष्ट्रिय उवासङ्घको तर्फबाट एक मात्र उम्मेदवारी परेका नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्स एण्ड ईका प्रतिनिधि संदीप अग्रवाल समेत निर्विरोध चयन भइसकेका छन् ।

त्यस्तै, महासङ्घको वस्तुगत सङ्घतर्फको अन्य १४ सदस्य पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ जना र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ ।