अफगान युद्धका समयमा केही अस्ट्रेलियाली सैनिकले ३९ जना अफगानी नागरिकको गैर कानुनी हत्या गरेको प्रमाण भेटिएको

एजेन्सी

५ मंसिर, काठमाडौं । अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ) ले आफ्नो एक बहुप्रतिक्षित जाँचमा अफगान युद्धका समय केही अस्ट्रेलियाली सैनिकले ३९ जना अफगानी नागरिकको गैर (कानुनी हत्या गरेको बलियो प्रमाण भेटिएको जनाएको छ ।

करिब चार वर्षसम्म चलेको जाँचले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

जाँच अनुसार अस्ट्रेलियाली सैनिकले विभिन्न २३ घटनामा ३९ जना अफगान नागरिकको हत्या गरेका थिए । ती हत्याहरू सन् २००९ देखि १३ को बिचमा भएको रिपोर्टमा उल्लेख छ ।

एडिएफले मेजर जनरल (न्यायाधीश) पल ब्रेरेटनको नेतृत्वमा यी सबै घटनाको जाँच गरेको हो। यसक्रममा ४ सय जना प्रत्यक्षदर्शीको बयान रेकर्ड गरिएको थियो ।

’तल्लो दर्जाका ती सैनिक जसले कसैको हत्या गरेका थिएनन्, उनीहरूलाई कैदीहरूको गोली हानी हत्या गर्ने आदेश दिइएको थियो’, जाँचमा भनिएको छ।

जाँचका अनुसार घटनालाई आफू अनुकुल बनाइ आफ्नो अपराध लुकाउन अस्ट्रेलियाली सैनिकले मारिएका निर्दोष अफगानी नागरिकको आसपास नियतवश बन्दुक तथा अन्य हतियार राखेर मुठभेड जस्तो देखाउने काम गरेका थिए ।

अफगानिस्तानले यस युद्ध अपराधमा आफूहरूलाई अस्ट्रेलियाबाट न्याय दिइने आश्वासन मिलेको बताएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी शहर न्यू योर्कका जुम्ल्याहा भवनमा आतंकवादी आक्रमण भएपछि अफगानिस्तानमा आश्रय लिदैं आएको ओसामा बिन लादेन नेतृत्वको अलकायदा तथा तालिवान सरकारका विरूद्ध अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर आक्रमण गरेको थियो। अमेरिकाको नेतृत्वमा भएको यो आक्रमणमा अस्ट्रेलिया अन्तर्राष्ट्रिय फौजको एक हिस्साका रूपमा सहभागी बनेको थियो ।

अफगानिस्तानले यस अभियानका लागि झण्डै ४० हजार सैनिकलाई युद्धमा खटाएको थियो ।

युद्धका क्रममा गैर(कानुनी हत्या गरिएका ती अफगानी नागरिक कैदी र किसान थिए। घटनामा २५ अस्ट्रेलियन सैनिकको संलग्नता पुष्टि भएको छ ।

जाँचले सबै हत्यामा सैनिकहरूले नियतवशः गैरकानुनी हत्या गरेको देखाएको छ ।

घटनाका लागि अस्ट्रेलियाले अफगानी नागरिकसँग माफी मागेको छ ।

अस्ट्रेलियाले घटनामा संलग्न सबै सैनिकामाथि मुद्दा चलाउने जनाएको छ । हाल अफगानिस्तान ४ सय सैनिक अस्ट्रेलियाली सैनिक कार्यरत रहेका छन् ।