पार्टी एकताको डोरी चुँडि सकिएको छैन

प्रचण्ड/नेकपा का कार्यकारी अध्यक्ष

५ मंसिर, काठमाडौं । केन्द्रीय मुख्यालय धुम्बाराहीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग आज भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको डोरी चुँडिनसकेको बताएका छन् ।

नेम्वाङले पार्टी एकता जोगाउन पहल लिन प्रचण्डसँग आग्रह गरेका थिए । भेटपछि नेम्वाङले अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भयो, उहाँले प्रष्ट भाषामा एकता जोगाउन तयार रहेको बताउनु भयो ।

नेम्वाङले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताएका थिए । निकै लामो भूमिका सहित नेम्वाङले प्रचण्डसँग सहमतिका लागि तयार रहन आग्रह गरेका थिए ।

‘तपाईंहरु दुवै (दुई अध्यक्ष) को सहमतिमा कार्यदल हुँदै स्थायी कमिटीबाट निर्णय भएको छ, त्यही सहमतिको आधारमा अगाडि बढौं’, नेम्वाङको प्रस्ताव थियो । संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने पनि नेम्वाङले बताए ।

नेम्वाङसँगको कुराकानीमा प्रचण्डले पार्टीमा अहिले अलिक बढी नै समस्या आएको बताएका थिए । तर, यो संकट समाधान गर्नै नसकिने चाहिँ नभएको प्रचण्डको भनाइ थियो ।