ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित

५ मंसिर, सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

सल्लीबजारबाट मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बिहीबार साँझ ७ बजे ठक्कर दिँदा गुर्भाकोट नगरपालिका– ९, का ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार भण्डारीको उपचारका क्रम्मा मेहेलकुना अस्पतालमा बिहीबार नै मृत्यु भएको थियो ।

भण्डारीसँगै रहेका दुईजना बालक भने घाइते भएका छन् । पैदल यात्री भण्डारी र उनीसँगै रहेका ८ वर्षीय भिमबहादुर खड्का र एक वर्षीय भुवन खड्कालाई सड्क पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको डीएसपी घर्तीले बताए । घाइते दुईजना बालकको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भण्डारीलाई ठक्कर दिने ट्रक चालक अहिलेसम्म फरार छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै मृतकका आफन्तहरु आन्दोलित भएका हुन् । मृतृकको शव अझै पनि मेहेलकुना अस्पतालमा रहेको मृतकका आफन्तले बताएका छन् ।

ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, घाइते बालकहरुको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग उनीहरुले राखेका छन् ।

डीएसपी घर्तीले भने ठक्कर दिने ट्रक चालकको खोजीकार्य जारी रहेको बताए । ‘म पनि अहिले घटना स्थलमै छु । चालकको खोजी भइरहेको छ,’ डीएसपी घर्तीले भने, ‘आन्दोलनबाट हुने क्षति न्यूनिकरण आवश्यक प्रहरी परिचालन गरेका छौं । मृतकका आफन्तहरुसँग पनि छलफल भइरहेको छ ।’