ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री नै बन्नुहुन्थ्यो

३० कात्तिक, काठमाण्डौ । नेकपा केन्द्रीय समिति सदस्य एवम् विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई ’पदलोलुप’ भन्न नमिल्ने बताएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूले तीव्र विरोध गरिरहँदा रिजालको यस्तो प्रतिक्रिया आएको हो ।

’अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ’पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ?’ पूर्व एमाले पक्षधर नेकपा नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्,’ अनि ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन ।’

जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ’पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ? भनेर समेत उनले प्रश्न गरेका छन् ।