’अहिले तपाईं सच्चिन जरुरी छ । तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन

उपाध्यक्ष, वामदेब गौतम

३० कात्तिक, काठमाण्डौ । पछिल्लो चरणमा पार्टीमा देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गौतमसँग बिहान १ घण्टा भन्दा बढी समय छलफल गरेका थिए।भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले गौतमसँग सुझाव मागेका थिए ।

उपाध्यक्ष गौतमले पार्टीका बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएको गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले बताएका छन् ।

’अहिले तपाईं सच्चिन जरुरी छ । तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन । त्यो प्रतिवेदन आफै गौण हुन्छ’ गौतमको भनाइ उदृत गर्दै सुवेदीले भने, ’सचिवालय बैठकमा छलफल गरौँ सबै समाधान त्यही निस्किन्छ ।’

शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रधानमन्त्री ओली पक्षधर नेताहरुले प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।