भोलिको सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने बहुमत सचिवालय सदस्यको निर्णय

२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यले भोलि (शुक्रबार) को सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले
बताए ।

भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उपाध्यक्ष गौतम छलफलमा केही ढिलो पुगेका थिए ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएपछि शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ । मंगलबार अध्यक्ष प्रचण्डसहित हुमत सचिवालय सदस्यको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटी बैठकका पछिल्ला निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउन नेताहरुले जोड गर्दै आएका थिए ।