Breaking News

बैतडीमा बस दुर्घटना ९ मृत्यु ३४ घाइते

२८ कात्तिक, डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।

एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए ।

बस बिहीबार साँझ पाँच बजेतिर दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ प्रस्थान गरेको थियो । बाटो पक्की भए पनि घुमाउरो बाटोमा चालकले सन्तुलन गुमाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।