कोरोना संक्रमित भएका पाँचमध्ये एकजनालाई मानसिक समस्या देखिने जोखिम

२५ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका पाँचमध्ये एकजनालाई मानसिक समस्या देखिने जोखिम हुने गरेको एक अध्ययनले देखाएको छ । मनोचिकित्सकहरुले ठूलो संख्याका मानिसहरुमा गरेको अध्ययनको नतिजा सार्वजनिक गर्दै सोमबार यस्तो बताएका हुन् । अध्ययनमा कोरोनाबाट संक्रमित भएका २० प्रतिशत मानिसहरुमा ९० दिनभित्र मानसिक असन्तुलनको समस्या देखिएको थियो । विशेष गरी धेरै मानिसहरुमा चिन्ता, अनिन्द्रा, डिप्रेसनजस्ता समस्याहरु देखिएका थिए । साथै शोधकर्ताहरुले उनीहरुलाई मतिष्कको रोग डिमेन्सिया हुने जोखिम पनि बढी हुने बताएका छन् ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा मनोचिकित्सकको अध्यापन गराइरहेका प्राध्यापक पाउन ह्यारिसन भन्छन्, ‘मानिसहरु कोभिड–१९ लाई जितेका मानिसहरुमा मानसिक स्वास्थ्य समस्या आउन सक्नेमा धेरै चिन्तित छन् र हाम्रो अध्ययनको नतिजाले पनि त्यस्तो हुन सक्ने सम्भावना रहेको देखाएको छ ।’

ह्यारिसनले विश्वभरका डाक्टरहरु र वैज्ञानिकहरुले तत्काल यसको कारणको विषयमा अनुसन्धान गरी कोभिड–१९ पछिको मानसिक समस्याको उपचार खोज्नुपर्ने ह्यारिसनको भनाइ छ ।

अध्ययनको क्रममा अमेरिकाका ६ करोड ९० लाख मानिसको इलेक्ट्रोनिक स्वास्थ्य तथ्यांकहरुको अध्ययन गरिएको थियो । यीमध्ये ६२ हजार कोरोना संक्रमित थिए । कोरोना संक्रमण पुष्टि भएको तीन महिनामा कोरोना जितेका पाँचमध्ये एकजनाले पहिलोपटक आफूमा चिन्ता, डिप्रेसन वा अनिन्द्राजस्ता समस्या देखिएको बताएका थिए ।

यो अध्ययनमा सहभागी नभएका विशेषज्ञहरुले पनि यो अध्ययनबाट कोभिड–१९ ले मानिसको मस्तिष्क र दिमागमा असर गर्न सक्ने देखिएको बताएका छन् । युनिभर्सिटी कलेज लण्डनका मनोचिकित्सा परामर्शदाता माइकल ब्लूमफिल्डले कुनै विशेष महामारीको कारण उत्पन्न मानसिक तनाव र संक्रमणको कारण परेको भौतिक असरको कारण पनि मानसिक समस्या देखिएको हुन सक्ने बताए ।

स्रोत : रोयटर्स