ट्राफिक महाशाखाद्धारा सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान सुरू

२२ कात्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान आजदेखि सुरू ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले आज शनिबार एक कार्यक्रमबीच उक्त अभियानको सुरू गरेका हुन् ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भदौ १६ गतेदेखि उक्त महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ ।

सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हर जनको हर परिस्थितिको सहारा, अत्यन्तै प्रिय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान सुरू गरिएको बताए ।

उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरू बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।

महाशाखाले गीत संगीतको माध्यमबाट आम सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरू समावेश गरी अडिओ क्लिप तयार गरिएको छ ।
सो ट्राफिक सन्देश र गीत भएको अडिओ क्लिपका माध्यमबाट आमसडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भीडभाड हुने मुख्य ५ वटा चोकहरू बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडिओ बजाएर सचेतना दिइनेछ ।

दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।