अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन विजयको नजिक ट्रम्पले मतगणना स्थगित गरी छानबिन गर्न पनि माग

२० कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जो बाइडेन विजयको नजिक पुगेका छन् । विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै बाइडेन जीत नजिक पुगेका हुन् ।

उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये अहिलेसम्म २५३ सिटमा आफूलाई पु¥याएका छन् । उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमै आफूलाई सीमित राखेका छन् ।

अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् । एरिजोना र नेभाडामा बाइडेन अगाडि छन् । जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन् ।

पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडेनलाई चुनाव जित्न १७ सिट काफी हुनेछन् । त्यहाँ बाइडेन नै अगाडी छन् ।

उता ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन् । उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन ।