प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीद्धारा जुममार्फत् प्रदेश १ का आफूनिकट नेता तथा कार्यकर्ताहरूको भेला

२० कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले जुममार्फत् प्रदेश १ का आफूनिकट नेता तथा कार्यकर्ताहरूको भेला गरेका छन् । जुममार्फत् प्रधानमन्त्री ओलीले गरेको भेलामा पार्टीभित्र देखिएको विवादबारे जानकारी गराएका थिए ।

उनले पार्टी संकटमा परेको भए पनि पार्टी एकतालाई जोगाउन आफूले प्रयास गरिरहेको बताएका थिए । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालमा सुरुदेखि नै आत्मकेन्द्रित भावना रहेको भन्दै आवश्यक परेमा जस्तोसुकै परिस्थितिको समेत सामना गर्नुपर्ने बताएका थिए ।

‘अहिले भइरहेको भ्रमलाई प्रधानमन्त्रीले प्रष्ट पार्न खोज्नुभएको हो । सुरूदेखि नै प्रचण्डको आत्मकेन्द्रित कुरा मात्रै छ । एउटा पार्टी विलय गराउने अनि फेरि अर्को बनाउने त उहाँको चरित्र नै हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपा प्रदेश १ का एक सदस्यले भने, ‘अहिले विचार दृष्टिकोण र सिद्धान्तमा कुनै समस्या छैन । कुर्सीमा मात्रै समस्या भएको हो । अहिले जनतको चाहानामा भन्दा पनि उहाँहरूले आफूलाई मात्रै केन्द्रित गर्दा पार्टीमा समस्या पैदा भएको छ ।’

कुनै बेला माधव नेपाललाई पार्टीमा अफ्ठ्यारो परेको बेलामा, अपदस्त गर्न लागेको बेलामा आफैंले जोगाइदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले नै अहिले दुःख दिइरहेको समेत गुनासो गरेका थिए । माधव नेपाल पक्षले दुःख दिइरहेको बेलामा प्रचण्ड पक्षधरले दुःख दिनु स्वाभाविक रहेको भेलामा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए ।

विपक्षीले समेत बोल्ने ठाउँ नपाइरहेको बेलामा पार्टीबाट भने सधैं असहयोग मात्रै भएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

भेलामा प्रदेश १ का प्रदेश सदस्यदेखि प्रदेश पार्टी अध्यक्ष देवराज घिमिरेसम्म सहभागी थिए । भेलामा प्रधामन्त्रीनिकटका ५० भन्दा बढी सहभागी थिए ।

नेकपा केन्द्रीय सदस्य एवम् ओखलढुंगा इन्चार्ज किशोर अधिकारीले जुममार्फत भेला भन्दा पनि प्रधानमन्त्रीसँग अन्तरक्रिया भएको बताए ।

प्रधानमन्त्री ओलीले अहिले भइरहेका घटनाक्रमबारे नै धारणा राखेको अधिकारीको भनाइ छ। ’प्रधानमन्त्रीले म खुलेरै आफ्ना कुरा राख्ने हो भन्नुभएको छ । एकपल्ट सम्झायो फेरि अर्कोपटक आउँछन् । स्थिति अब सबै जगजाहेर छ नि । उहाँलाई कति अफ्ठ्यारो छ भन्ने,’ अधिकारीले भने, ‘प्रचण्डले थर्काएर समीकरण परिवर्तन गर्न खोज्नुभएको हो । त्यस्तो अवस्था छैन । हामी सचेत बनौं स्थिति यो हो भनेर प्रधानमन्त्रीले भन्नुभयो ।’

अहिलेको अवस्था, पार्टी महाधिवेशनको तयारीबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखिएको उनले बताए ।

अर्का एक केन्द्रीय सदस्यका अनुसार सहमतिका आधारमा महाधिवेशन गर्ने भन्दा पनि पार्टी कसरी फुटाउने, कसरी पद हत्याउने भनेर केन्द्रित हुँदा अहिलेको परिणाम आएको धारणा प्रधानमन्त्रीले राखेका थिए । पार्टीमा उत्पन्न भएको समस्या समाधान गर्ने क्रममा कार्यदल बनेको र दुई अध्यक्षले सचिवालय अनि स्थायी कमिटीमा प्रस्तुत गरेर सर्वसम्मतीबाट पारित भएको भए पनि यसको कार्यान्वयन नभएको बारेमा प्रधानमन्त्रीसँग कार्यकर्ताहरूले जिज्ञासा राखेका थिए ।

‘पाँच वर्ष सरकार चल्ने,पार्टी कार्यकारी भूमिकामा प्रचण्ड रहने, दुई अध्यक्षको परामर्शमा काम हुने भनेर सर्कुलरसमेत भएको हो । तर, कार्यकारी अध्यक्ष गुटको भेला र परामर्शमा व्यस्त हुँदा समस्या उत्पन्न भएको हो,’ अर्का एक सहभागीले भने, ‘प्रधानमन्त्रीले पार्टीमा परामर्श लिएर मन्त्रिपरिषद हेरफेर गर्न खोज्दासमेत अर्का अध्यक्षले रोकेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । नेताहरूका अभिव्यक्तिले समेत उतिकै अन्यौलता थपिएको छ ।’

प्रधानमन्त्री ओलीले कार्यदलको प्रतिवेदन लागू गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका थिए । उनले पार्टी प्रवक्ताको भूमिकासमेत सन्तुलित हुन नसकेको बताएका थिए ।

‘प्रवक्ताको नामबाट नानाथरी सम्प्रेषण भएको छ । कमिटीको निर्णय मान्दिनँ भनेर मैले कहिल्यै भन्दिनँ । अहिले यस्ता अनेकथरी कुरा गरेर विभिन्न खेल भइरहेका छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक प्रदेश सदस्यले भने, ‘अझै पनि दुई अध्यक्ष मिलेर अघि बढ्ने हो । महाधिवेशनबाट नीति, सिद्धान्त र नेतृत्वको टुंगो लगाउने हो ।’

जुम भेलामा उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल पनि सहभागी थिए। उपप्रधानमन्त्री पोखरेलले जनताको बहुदलीय जनवादबारे जोड दिएका थिए भने मदन भण्डारी फाउण्डेशनलाई सक्रिय बनाउन निर्देशन दिएका थिए ।