बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन

१८ कात्तिक, काठमाण्डौ । कोरोना बीमा गरेकालाई संक्रमण पुष्टि भएपछि बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतसँग छलफल गरी एक हप्ताभित्र भुक्तानी दिने व्यवस्थालाई कार्यान्वयन गर्न भनेका हुन् ।

सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ ।

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको
छ ।

बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार आवेदनका साथ पूर्ण रुपमा कागजात पत्र नपुगेका कारण धेरैलाई दावी भुक्तानी हुन नसकेको हो ।

हाल संक्रमित भएका करिब १४ हजारले बीमा रकमका लागि दावी गरेका छन् । तर तीमध्ये २ हजार ३ सयको मात्रै पूर्ण रुपमा प्रक्रिया पुगेको पाण्डेले बताए । ‘प्रक्रिया पुरा गरेका ती २ हजार ३ सयलाई हामीले यसै साताभित्रै भुक्तानी गर्छौं’ उनले सेतोपाटीसँग भने ।

हालसम्म १ हजार ७ सय संक्रमितले बीमा रकम प्राप्त गरेको उनले बताए ।

‘धेरैले आवेदन दिए पनि तोकिएअनुसार प्रक्रिया पुगेको छैन, उहाँहरुलाई हामीले जानकारी गराएर चाँडो दावी भुक्तानीका लागि प्रतिबद्ध छौँ’ पाण्डेले भने ।

बीमा रकम प्राप्त गर्नका लागि पिसिआर परीक्षणको रिपोर्ट, आइसोलेसनमा बसेको प्रमाणित हुनेगरी स्थानीय निकाय वा सम्वन्धित अस्पतालबाट खुल्ने कागजातपत्र तथा उपचार खर्च लागेको खण्डमा सोको कागजपत्र र आफ्नो नागरिकता जरुरत पर्दछ ।

समयमै कोरोना बीमाको भुक्तानी नपाएका बीमितको गुनासोपछि अर्थमन्त्री पौडेलले यसबारे चासो लिएका हुन् । बीमा गरेकालाई प्रक्रिया पुरा भएको ७ दिनभित्रै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ ।