Breaking News

एएमडीद्धारा अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद

१२ कात्तिक, सान जोसे, क्यालिफोर्निया । चिप्स उत्पादक कम्पनी एएमडीले अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरू तीव्र हुने अनुमान गरिएको छ ।

झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ ।

एएमडीले उत्पादन गरेका प्रोसेसर प्रविधिले सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

एएमडीका प्रमुख कार्यकारी डा लिसा सूलाई संयुक्त कम्पनीको प्रमुख कार्यकारीको रूपमा जिम्मेवारी दिइएको छ । पेङ भने एएमडीको अध्यक्ष रहनेछन्, र झिलिङ्क्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व गर्नेछन् ।

यो सम्झौता अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । सम्झौतालाई दुबै कम्पनीका शेयरधनीहरूले अनुमोदन गर्नु पर्नेछ।

एजेन्सी