नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित

१२ कात्तिक, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो ।

तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए ।
‘बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले हिजो महासचिवले प्रधानमन्त्री तथा अध्यक्षसँग भेटवार्ता गरेको र आज कार्यकारी अध्यक्षसँगको छलफलपछि बैठकबारे थाहा हुने बताए । ‘हिजो प्रधानमन्त्री तथा अध्यक्षसँग महासचिवले छलफल गर्नुभएको
छ । आज अर्का अध्यक्षसँग पनि छलफल गर्ने बुझिएको छ । त्यो छलफलपछि बैठकबारे ठोस धारणा सार्वजनिक होला’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘आधिकारिक व्यक्ति नबोल्दासम्म यही हुन्छ भन्न सकिँदैन ।’
बरु नेकपामा एकपछि अर्को विवाद देखिन थालेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच साझा मापदण्ड बन्न नसक्दा असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड र ओलीबीच कर्णाली विवादबारे फरकफरक दृष्टिकोण सार्वजनिक हुन पुगेका थिए । त्यसपछि ओली र प्रचण्डबीच मतभेद बढेको अड्कलबाजी भइरहेका बेला भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्तापछि थप आशंका बढ्न पुगेको छ ।