यसरी मनाइयो नवमी

९ कात्तिक, काठमाण्डौ । बडादसैंको आज नवौं दिन देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ ।

घटस्थापनाका दिन आआफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।

महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । तर, यसपालि कोभिड(१९ का कारण यो प्रभावित हुन पुगेको छ ।

हनुमानढोकाको दसैंघर लगायत कतिपय समुदायले शनिबार महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आआफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् ।

आज नवरात्रीको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइँदैछ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।

सिंहको वाहनमा बिराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो। माताको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वास छ ।