जसपाको केन्द्रीय समिति ८०१ सदस्यीय

४ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ ।

विधान संशोधन पारित भएसंगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको भएको छ ।

वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ(आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकता भन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।

त्यस्तै, अनुशासन सम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ ।

पार्टीको कारबाही प्रक्रियामा पनि केही खुकुलो बनाइएको छ । यसअघि पार्टीको हितविपरित काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो भने अहिले सचिने मौका दिने प्रावधान राखिएको छ । त्यस्तै सदस्यता लगायतका केही विषयमा पनि संशोधन गरेको स्रोतले जनाएको छ ।