कांग्रेसका महामन्त्री शशांक कोइराला द्धारा पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा बांड्दै

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयां बांड्दै हिंडेको भेटिएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बांड्दै हिंडेका हुन् ।

मंगलबार दिउँसो अनलाइनखबरकर्मीलाई तिवारीको फोन आयो । उनले अनलाइनखबरमा कार्यरत सञ्चारकर्मीलाई भेट्न बोलाए ।

कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाए, जसमा १५ हजार रुपैयां (हजारका १५ वटा नोट) रहेछ ।

कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरे । खाममा १५ हजार रुपैयां भेटिएको बताउंदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहो¥याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए ।

अनलाइनखबरकर्मीले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउंमा (पैसा बाँड्न ?) पुगिसकेको बताउंदै भने, ‘पछि फोन गर्छु ।’

अनलाइनबरकर्मी श्रेष्ठले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताएपछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए । तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैया) डिपोजिट गरेर अनलाइनबरका तर्फबाट फिर्ता गरिएको छ ।
अनलाईन खबरबाट