अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

४ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन् ।

अर्घाखांची गृहजिल्ला भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् । यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन् ।

कोरोना महामारीसंगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ ।

श्रेष्ठले अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने बताए ।

अहिले चुनौती छ, तर चुनौती छ भनेर हात(खुट्टा बाँधेर बस्ने अवस्था पनि होइन, जसले गरे पनि केही न केही योगदान गर्नुपर्ने थियो, अहिले अर्थमन्त्री असफल हुनु भनेको देश असफल हुनु हो । त्यसैले, देशलाई असफल हुन नदिन म मात्र होइन, समग्र टिमले काम गर्ने छौं ।