२५ असोज, काठमाण्डौ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ ।
सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए। चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ ।
लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए । यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकलाई सचेतना अपनाउन अपिल गरे। काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकलाई सचेतना अपनाउन अपिल गरे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे। दशैं, तिहार र छठजस्ता चाडपर्वमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे। जेष्ठ नागरिकको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भूमिकालाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्ने बताए ।
राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरूद्धको लडाइँमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यास काठमाडौंमा लागु गर्न जरुरी रहेको बताए ।