आठ बुँदे सहमति पछि डा. केसीले अनसन तोडे

२५ असोज, काठमाण्डौ । डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबीच भएको ८ बुँदे सहमतिपछि आज आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।

डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाउँदै ।

उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् । लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था नाजुक भएका डा. केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका
थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत उनलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । तर डा. केसीले आफू त्रिवि शिक्षण अस्पताल नै जाने अडान राखेपछि उनलाई त्यहाँ लगिएको थियो ।