बिनाशर्त आफ्नो अनसन स्थगित गर्न सरकारी वार्ता टोलीले अनुरोध

२४ असोज, काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई बिनाशर्त आफ्नो अनसन स्थगित गर्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ ।

शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन् ।

‘डाक्टर केसीले उठाउनु भएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तु हरू प्रष्ट गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध
छ ।’

कोभिड–१९ को विश्वव्यापी महामारीले आक्रान्त भएको अवस्थामा परिस्थितिला मनन् गर्दै अनसन स्थगित गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

केसीले उठाएका माग र विषयवस्तुहरू सबै कार्यान्वयन चरणमा रहेको सरकारी वार्ता टोलीको दाबी छ ।

केसी विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि सत्याग्रहमा छन् । उनको जीवन जोखिममा परिरहेका बेला सरकारी पक्षले भने वार्ता गर्नुको सट्टा अनसन स्थगितको अनुरोध तेर्स्याएको हो ।