आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद

२३ असोज, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए ।

उनले त्यसका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको पनि जनाए ।

उनले केही संक्रमितहरू निको नभई पनि बाहिर हिँडेको जानकारी आएको भन्दै कारबाहीको कदम अघि सारिएको जनाए ।

साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मानिसहरू स्वाब दिने र रिपोर्ट नआई काममा फर्किने गर्दा त्यो बीचको समयमा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो ।