कोरोना कहरका कारण रोकिएको कक्षा १२ को परीक्षा दशै लगत्तै

२२ असोज, काठमाण्डौ । कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ ।

‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ । तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने ।

विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए ।

विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन । जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहां छ त्यहांको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ ।’

परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए ।

यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उनले बताए ।

कक्षा १२ पढ्न कक्षा ११ पास हुनु नपर्ने भएकोले कक्षा १२ को परीक्षा फारम भर्नु अघिसम्म कक्षा ११ का विद्यार्थीको परीक्षा विद्यालयले लिन सक्ने उनको भनाइ छ ।

सरकारले विद्यालय, विश्वविद्यालय लगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उनको भनाइ छ ।