७ वर्षीया बालिकामाथि बलात्कारको प्रयासमा ४३ बर्षे पुरुष पक्राउ

२२ असोज, काठमाण्डौ । नेपालमा आजभोलि बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । एक ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन् ।

पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका ४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ ।

हिजो बुधबार दिउंसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानीयले देखेका थिए ।

स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।

ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

’बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन । ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ,’एसपी राठौरले भने,’बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ।’

विकले बालिकालाई फकाएर लगेको उनले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।