घरमै बसी म्यासेन्जरबाट परीक्षा

२२ असोज, काठमाण्डौ । कोरोना महामारीका कारण बन्द रहेका शैक्षिक सस्थाहरुले बिद्यालय स्थरको परीक्षा लिन थालेका छन् । यस संगै काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालय उदाहरण हो ।

काठमाडौंमा कोरोना भाइरस संक्रमित संख्या दिनप्रतिदिन बढिरहेका बेला यो विद्यालयले केही दिनदेखि विद्यार्थीको परीक्षा सञ्चालन गरिरहेको छ ।

परीक्षामा विद्यार्थी सहभागी भइरहेका छन् तर उनीहरू भौतिक रूपमा विद्यालय उपस्थित भने छैनन्। घरबाटै परीक्षा दिने व्यवस्था विद्यालयले मिलाएको हो ।

विद्यालयकी प्रधानाध्यापक रिता तिवारीका अनुसार महामारीका बेला आफ्ना विद्यार्थीलाई सुरक्षित तवरबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

परीक्षाका लागि विद्यालयले दुइटा विकल्प अगाडि सारेको छ ।

‘काठमाडौंमै हुने विद्यार्थीका घरमै प्रश्नपत्र पठाइएको छ,’ प्रअ तिवारीले सेतोपाटीसँग भनिन्, ‘काठमाडौं उपत्यकाबाहिर रहेका विद्यार्थीलाई म्यासेन्जरबाट प्रश्नपत्र पठाइएको हो ।’

काठमाडौंमै रहेका विद्यार्थीका अभिभावकले विद्यालयबाट सबै विषयको प्रश्नपत्र घर लगिसकेका छन्। काठमाडौं बाहिर भएका विद्यार्थीलाई भने शिक्षकले हरेक दिन प्रश्नपत्र म्यासेन्जरमा पठाइदिन्छन् ।

‘अभिभावक पनि शिक्षक नै हो भन्ने मान्यताअनुसार अभिभावकलाई सबै विषयको प्रश्नपत्र र कापी पठाइदिएका छौं । उहाँहरूले दिनमा एक विषयको प्रश्नपत्र दिएर उत्तरपुस्तिका सुरक्षित राख्नुहुन्छ,’ उनले भनिन्, ‘सबै विषयको परीक्षा सकिएपछि अभिभावकले नै विद्यार्थीका उत्तरपुस्तिका विद्यालयमा ल्याइदिनु पर्नेछ ।’

म्यासेन्जरबाट प्रश्नपत्र पठाइएका विद्यार्थीका हकमा भने उत्तरपुस्तिकाको फोटो खिचेर शिक्षकका म्यासेन्जरमा पठाउनु पर्नेछ ।

प्रश्नपत्रको जवाफ दिँदा विद्यार्थीले किताबलगायत सन्दर्भ सामग्री पनि हेर्न पाउंछन्, त्यो छुट विद्यालयले दिएको छ ।

‘कुनै विद्यार्थीले प्रश्नको जवाफ किताब हेरेरै लेख्यो भने पनि विद्यार्थीको सिकाइ त निरन्तर रह्यो नि ! केही न केही अभ्यास हुन्छ केही सिक्छन्,’ उनले भनिन्, ‘महामारीका बेला विद्यार्थीको सिकाइ निरन्तर राख्नुपर्नेछ ।’

चार दिनदेखि यस विद्यालयका कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले यसैगरी परीक्षा दिइरहेका छन् ।

यो विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।

‘तीन सय जना अभिभावकले प्रश्नपत्र बुझेर लैजानुभएको छ । म्यासेन्जरबाट प्रश्नपत्र पठाएर एक सय जति विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

विद्यालयमा कक्षा १ देखि १० सम्म पाँच सय विद्यार्थी पढ्छन् । चार सय जति विद्यार्थी कक्षा ११ र १२ का हुन्। करिब एक सय विद्यार्थी भने दुबै तरिकाबाट हुने परीक्षामा सहभागि हुन सकेका छैनन् ।

प्रअ तिवारीका अनुसार अहिले छुटेका विद्यार्थीलाई केही पछि परीक्षामा सहभागी गराइनेछ ।

विद्यालयले पहिलो चैमासिक परीक्षा अन्तर्गत ५० नम्बरको परीक्षा लिएको उनले बताइन् ।

‘अहिले ५० नम्बरको परीक्षा लिएको हो । प्रश्नपत्र वस्तुगत र विषयगत खालका छन्,’ उनले भनिन्, ‘बाँकी ५० नम्बरको परीक्षा गृहकार्य लगायतबाट मूल्यांकन गरेर दिइन्छ ।’

‘सरकारले मंसिरमा पहिलो परीक्षा लिनु भनेको छ । तर हामीले विद्यार्थीको मूल्यांकनका लागि यो परीक्षा गरेका हौं,’ उनले भनिन् ।