तत्काल लकडाउन हुँदैन – स्वास्थ्य मन्त्रालय

२१ असोज, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ । यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने गरी सरकारलाई सिफारिस गरेको थियो ।

आज बुधबार मात्र ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगुन्जेल संक्रमितको उपचार व्यवस्थापन गर्न सकिने भन्दै त्योभन्दा बढी संख्या भए लकडाउनमा जानुपर्ने बताउँदै आएको थियो ।

तर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नै लकडाउनमा जानुपर्ने स्थिति नआएको दाबी गरेका छन् । उनले अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव नहुन्जेल लकडाउन नहुने जनाए ।

मान्छेलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ,’ उनले भने ।

प्रवक्ता गौतमले पछिल्लो समय भने काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुन थालेको बताएका छन् । उनले यहीँ स्थितिमा संक्रमण दर बढे अस्पतालहरूले भार थाम्न नसक्ने उनले जनाए ।