‘बिवाह गर्न नमानेपछि’ भारत लगी अढाइ महिनासम्म बन्धक

२१ असोज, काठमाण्डौ । साउन २ गते ३५ वर्षीय अगलेश यादव बाँकेको जानकी गाउँपालिका–५ की १७ वर्षीया किशोरीको घरमा पुगे ।

अगलेश बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ७ का हुन् । उनी विवाहित हुन् । २१ वर्षीय भाइ मुकेश र ५५ वर्षीय हरिराम अहिरलाई पनि साथै लिएर गएका थिए ।

तीन जना भएर किशोरीलाई उठाए । बोर्डरसम्म पुगेपछि अगलेश किशोरी लिएर भारत लागे ।

उनीहरू भने नेपाल फर्किए ।

किशोरी हराएपछि परिवारका सदस्यले त्यसबेलै प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी आएँदा किशोरीलाई कहाँ लगियो भन्ने खुलेको थिएन ।

प्रहरीले सोधखोज र अनुसन्धान थाल्यो । अगलेशलाई मुकेश र हरिरामले सहयोग गरेको पत्ता लागेपछि दुवैलाई पक्राउ ग¥यो ।

पक्राउ परेकाले भारतसम्म लगेको बाहेक केही पनि भनेका थिएनन् । ती किशोरी र अगलेशबीच सामान्य चिनजान रहेको थाहा भएको छ । पक्राउ परेका दुवैले यसबारे बताएका छन् ।

कुन माध्यम र चिनजानको परिस्थितिबारे पनि स्पष्ट खुलेको छैन ।

प्रहरीका अनुसार अगलेशले किशोरीलाई बिहे गर्न प्रस्ताव गरिरहेका थिए । किशोरीले नमानेपछि अपहरण गरेको प्रहरीको भनाइ छ ।

ती किशोरीलाई अढाइ महिनापछि प्रहरीले भारतबाट उद्धार गरेको छ । मंगलबार उद्धार गरेर नेपाल ल्याएकी ती किशोरी विछिप्त अवस्थामा छिन् ।

तर, यो घटनाको मुख्य भूमिकामा रहेका अगलेश भने पक्राउ नपरेकाले यथार्थ खुल्न बाँकी नै रहेको बाँके प्रहरीले जनाएको छ ।

अगलेश किशोरी लिएर भारतको भारत उत्तर प्रदेशको जिल्ला गौतमबुद्ध नगरको दुजानामा पुगेका थिए । त्यहाँ एउटा कोठामा राखेर किशोरीलाई बन्धक बनाएका थिए ।

बाँके जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घरका परिवार धान रोप्न खेतमा गएको मौका छोपेर घरमा एक्लै रहेकी ती किशोरीलाई उनीहरूले अपहरण गरेका थिए ।

अनुसन्धान गर्दै जाँदा युवती भारतमा लगिएको खुलेपछि भारतीय प्रहरीसँग समन्वय थालिएको थियो ।

भारतीय प्रहरीले किशोरीलाई बन्धक बनाएको स्थान पत्ता लगाएपछि नेपाल प्रहरीलाई खबर ग¥यो । र, मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक हृदयशकुमार सापकोटासहितको प्रहरी टोलीले ती किशोरीलाई नेपाल ल्यायो ।

तर, किशोरीलाई उद्धार गर्दा अगलेश भने नभेटिएको खड्काले बताए । फरार अगलेशलाई भारतीय प्रहरीले खोजी गरिरहेको छ ।

खड्काका अनुसार ती किशोरी विछिप्त अवस्थामा छिन् । उनलाई मनोवैज्ञानिक परामर्शमा राखिएको खड्काले
बताए ।

उनीमाथि अपहरण बाहेक अन्य अपराध भए नभएकोबारे अनुसन्धान भइरहेको उनले बताए ।

‘बिहे गर्नका लागि त्यसरी लगेर बन्धक बनाएको भन्ने कुराबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

बिहे गर्नका लागि किशोरीको उमेर पुगेको छैन। संहिताअनुसार कसैलाई अनिच्छापूर्वक एक ठाउँबाट अर्को ठाउँमा लगेर राख्नु मुलुकी अपराध अपहरण र शरीर बन्धक मुद्दा आकर्षित हुन्छ ।

मुलुकी अपराध संहिता अनुसार अपहरणमा संलग्नलाई १० देखि १५ वर्षसम्म कैद र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।