अमेरिकी राष्ट्रपति ट्रमको स्वास्थ्य जटिल शरीरमा अक्सिजनको मात्रा कम

१९ असोज, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको छ ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ’उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो ।

एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो । यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो ।

थुप्रै स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड–१९ भएको मान्दछन् ।

चिकित्सकहरूले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा शुक्रबार अक्सिजन दिनुपरेको बताएका छन् । यध्यपी शनिबार पुनः दिइयो कि दिइएन भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन । यस्तै रगतमा अक्सिजनको स्तर ९० प्रतिशतभन्दा तल झरेको थियो कि थिएन भन्ने पनि स्पष्ट छैन ।

डा. कोन्ली ट्रम्पलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको बताए ।

डेक्सामेथासोनले गम्भीररूपका कोरोना विरामीलाई सहयोग पु¥याउने गरेको छ । यध्यपी सामान्यतया यो हल्का र मध्यम प्रकारका विरामीलाई भने प्रयोग गरिदैंन ।

ट्रम्पको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी नदिएकाले उनीमाथि डेक्सामेथासोनको प्रयोग चाँडो गरियो वा साँच्चै अवस्था गम्भीर भएर प्रयोग गरियो भन्ने बारेमा स्पष्ट नभएको संक्रामक रोग र आपतकालीन चिकित्सा विज्ञहरूको भनाइ छ ।

यस्तै उनीहरूले ट्रम्पको स्वास्थ्य सार्वजनिक गरिए भन्दा बढी नै गम्भीर भएको पनि आशंका गरेका छन् ।

’डेक्सामेथासोन यस बिन्दुमा उनलाई दिइएको सबैभन्दा रहस्यमय औषधि भएको देखिरहेका छौं’, न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनले भने ।

उनले यो औषधि विरामीको अवस्था गम्भीर हुँदै गएको अवस्थामा बाहेक सामान्यतया प्रयोग नहुने बताए ।

सेप्टेम्बर २ मा विश्व स्वास्थ्य संगठनले डेक्सामेथासोनको प्रयोग कोरोनाका गम्भीर प्रकृतिका विरामीलाई मात्र प्रयोग गर्न सिफारिस गरेको थियो ।

नेशनल इन्सिट्यूट अफ हेल्थ साइन्सेसले पनि यस्तै प्रकारको सिफारिस गरेको छ । उसले मेडिकल भेन्टिलेटरको सहयोग चाहिने विरामीलाई मात्र प्रयोग गर्न भनेको छ ।

ब्रिटेनमा गरिएको ठूलो अध्ययनमा डेक्सामेथासोनको प्रयोगले एक साता भन्दा लामो समय विरामी परेका मानिसहरूलाई सहयोग गर्ने देखाएको थियो ।

अध्ययनका अनुसार यसको प्रयोगले मेकानिकल भेन्टिलेटरमा पुगेका करिब एक तिहाई र अन्य किसिमबाट अक्सिजनको सहयोग लिएका प्रत्येक पाँच विरामीमा एक जनाको मृत्यु घटाएको थियो ।