प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव र ६७ जना कोरोना संक्रमिण

१६ असोज, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण हुनेमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको हो । ‘सुरक्षाकर्मी लगायत थुप्रैको स्वाब संकलन गरिएको थियो ।

६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिब्यासिंह शाह र प्रधानमन्त्रीको सचिवालयमा रहेका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि शुक्रबार अरुको स्वाब गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । प्रधानमन्त्रीसँगै राजेश श्रेष्ठ, दीपेन्द्र दाहाल लगायतको बुधबार स्वाब संकलन गरिएको र बिहीबार नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।