नेकपा सचिवालय बैठक भोलि अपरान्ह ४ बजे बस्दै

१७ असोज, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि आइतबार बस्दैछ । मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । हिजो शुक्रबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि आज शनिबार ४ बजे बैैठक बस्न सक्ने भनिएपनि औपचारिक रुपमा कुनै जानकारी दिइएको थिएन । सचिवालय सदस्यहरुलाई भोलि आइतबार अपरान्ह ४ बजे बैठक बस्ने जानकारी आज शनिबार गराइएको एक सचिवालय सदस्यले बताएका छन् ।

नेकपामा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेताहरुबीच एकरुपता छैन । प्रधानमन्त्री तथा अध्यष ओली आंशिक पुनर्गठनको पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अपवाद बाहेक पुरै मन्त्रिहरु परिवर्तन गर्नुपर्ने अडानमा छन् ।

यसअघि गत असोज ६ गते सचिवालय बैठक बसेको थियो । यसबीचमा दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन गर्न मापदण्ड तय गर्ने भनिएपनि कुरा मिल्न सकेको छैन । यसैबेला गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन राजदुत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेपछि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।