६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल

११ असोज, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन् ।

त्यस्ता व्यक्तिहरू घर बाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ । साथै दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन मन्त्रालयको सुझाव छ ।

पछिल्लो समय उपत्यका लगायत बढी जनघनत्व भएको सहरहरूमा संक्रमण दर बढेको देखिएको छ ।

आइतबारमात्र काठमाडौं उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । अहिले देशभर थपिने संक्रमित संख्यामध्ये आधाभन्दा बढी संक्रमित उपत्यकाका छन् ।