मन्त्रीमन्डल पुर्नगठनमा भागबण्डा मिल्यो, मुख्यमन्त्री फेर्नेमा अझै कसरत

९ असोज काठमाडौं । सत्तारुढ दल नेकपाले हालका सबै मन्त्रीलाई राजीनामा गराएर नयाँ मन्त्रीमण्डल गठन गर्ने गरी गुटगत भागबण्डा मिलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै मन्त्रीले राजीनामा दिने पक्का भएको छ ।

सुरुमा सबैलाई राजीनामा गराएपनि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोजेका केही मन्त्री पुनर्गठनमा पुनः मन्त्री बनेर आउनेछन् । तर, प्रचण्डलाई बुहारी बिना मगरलाई कसरी मन्त्रीमा टिकाईरहने भन्ने पिरलो छ । नयाँ बनेको मापदण्डअनुसार बिना मगर पुनः मन्त्री बन्न गाह्रो छ ।

यता प्रधानमन्त्री ओलीलाई भने अहिले भईरहेका मन्त्रीहरु प्रदीप ज्ञवाली र ईश्वर पोख्रेललाई दोहो¥याउन मन छ । प्रधानमन्त्रीले सकेसम्म ७० करोड काण्डमा मुछिएका पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई पनि ल्याउन लागेको नेकपाभित्रै चर्चा छ । तर त्यो तत्काल सम्भव नभएमा प्रदीप ज्ञवालीलाई सञ्चारमन्त्री र अर्थमन्त्रीमा कसैलाई नल्याई आफैं राखेर युवराज खतिवडामार्फत् बजेट बनाउन खोजेको नेकपाका एक नेता बताउँछन् ।

यति हुँदाहुँदै पनि संघीय मन्त्री हेरफेरमा नेताहरुबीच भित्री सहमति बनिसकेको नेकपा स्रोतको दाबी छ । प्रधानमन्त्री ओली,अध्यक्ष प्रचण्ड र नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललाई गुटगत रुपमा मन्त्रीको संख्या दिईसकिएको छ । नेताहरुले नाम दिएपछि सजिलै टुङ्गो लाग्ने छ । यता गुट भएपनि सिङ्गो आफैंलाई मात्रै हेर्ने नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई भने कि आफैं की एकएकजनाको नाम दिन भनिएको छ ।

मन्त्री बन्ने तीव्र ईच्छासहित राष्ट्रियसभामा पुगेका वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई भने मन्त्री बन्ने हो भने रोजेको होईन दिएको जिम्मेवारी लिनुपर्ने भन्दै प्रधानमन्त्रीले सांसद बन्न पनि र मन्त्री बन्न पनि रोज्न नपाईने भनेका छन् ।

मन्त्रीमण्डलमा केही पहिलो पटक मन्त्री बन्ने नयाँ अनुहार थपिए पनि अधिकांश पुरानै अनुहार हुने स्रोतको दाबी छ । यता संघीय मन्त्रीमा टुङ्गो लगाए पनि नेकपाले मुख्यमन्त्री फेरबदलमा सहमति जुटाउन सकेको छैन । खासगरी बागमती प्रदेश र १ नम्बर प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने भनिएपनि अहिले कर्णाली र सुदुरपश्चिमसँगै आवश्यक परेमा ५ नम्बर प्रदेशको मुख्यमन्त्री फेर्न कसरत भैरहेको छ ।

बागमती प्रदेश र १ नम्बर प्रदेशको मुख्यमन्त्री क्रमशः डोरमणि पौडेल र शेरधन राई दुवै प्रधानमन्त्री केपी ओली समूहको भएको कारण बागमतीमा माधव नेपाल समूहको अष्टलक्ष्मी शाक्य र १ नम्बर प्रदेशमा झलनाथ खनाल समूहका भिम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान छ ।