दाउन्नेको भिरबाट बस खस्दा १ को मृत्यु ६ घाइते

९ असोज, कावासोती । लगातार आएको बर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

हिजो बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नं.को बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन् ।