म सभापतिको स्वभावित उम्मेदवार हुँ

प्रकाशमान सिंह

कांग्रेसको १४ औं महाधिवेशन, भावी नेतृत्व र समसामयिक राजनीतिबारे कांग्रेस नेता प्रकाशमान सिंहसँग सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको सम्पादित अंश हामी यहाँ साभार गर्न चाहन्छौ :

कुरा तपाईंको स्वास्थ्यबाट सुरू गरौं । छरितो देखिनुहुन्छ, २२ किलो तौल कसरी घटाउनुभयो ?

म मधुमेह, प्रेसरको बिरामी हुँ । केही समय अगाडि दुई पटक अस्पताल भर्ना हुनुपर्यो । अस्पतालबाट फर्केपछि पार्टीकै साथीहरूले शरीरको तौल घटाउन सुझाव दिए ।

यसपछि मैले बालाजुका एक जना चिकित्सकलाई भेटें । उहाँले दैनिक १६ घन्टा भोको बस्न सुझाव दिनुभयो । म फास्टिङ गर्न थालें । तीन महिनामा २२ केजी घटेछु ।

तपाईंको शरीर त छरितो भयो, नेपाली कांग्रेस पार्टीको स्वास्थ्य बिग्रँदैछ । कसरी सुधार गर्ने ?

सक्रिय रूपमा राजनीतिमा लाग्न स्वास्थ्य पनि राम्रो हुनुपर्छ । म अब सबै साथीहरूलाई पार्टीको गहन जिम्मेवारी लिन मैले स्वास्थ्य सुधार गरिसकेँ भन्छु ।

अब १४ औं महाधिवेशन आउँदैछ । पार्टीको स्वास्थ्य सुधार गर्ने अवसरका रूपमा सबैले महाधिवेशनलाई लिनुपर्छ ।

कांग्रेसको सिद्धान्त बहुलवादमा आधारित संसदीय व्यवस्था राम्रो छ । इतिहास पनि राम्रो छ । तर काम भने भनेजस्तो गर्न
सकेन ।

संविधान बनाउने जस्ता काम कम्युनिष्टले गर्न सकेनन् कांग्रेसले गरेर देखायो । तर संविधान कार्यान्वयन गरी संस्थागत गर्ने बेला जनताले कांग्रेसलाई म्यान्डेट दिएनन् । त्यसले पार्टीभित्र केही कमजोरी रहेछ भन्ने देखियो ।

पार्टी सभापतिमा जनताको विश्वास भएन भने राम्रो नहुने रहेछ । राम्रो काम गर्ने भए नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने जनताको भनाइ छ ।

त्यसकारण पार्टीलाई बुझेको, निष्ठावान्, तलदेखि दुःख गर्दै आएको, सिद्धान्त बुझेकोजस्ता सबै कुरा भएकोलाई महाधिवेशनबाट नेतृत्वमा पुर्याउनु पर्छ ।

सभापति शेरबहादुर देउवाले पनि प्रजातन्त्रका लागि संघर्ष गरेकै हो । पटक–पटक प्रधानमन्त्री पनि भएको, चौथो प्रयासमा सभापति पनि भएको हो तर उहाँले पार्टी राम्रोसँग चलाउन सक्नुभएन ।

हरेक चार वर्षमा महाधिवेशन हुनुपर्ने हो । एक वर्ष थपियो । जुन विधानबाट उहाँ पार्टी सभापति हुनुभयो त्यही विधानअनुसार निर्देशित गरेका काम उहाँले गर्न सक्नुभएन ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ मा बस्दैछ । सभापतिले महाधिवेशन फागुनबाट पछाडि सारौं भन्ने प्रस्ताव गर्नुभयो भने यहाँहरूले के भन्नुहुन्छ ?

फागुन ७ देखि १० सम्मै महाधिवेशन गर्नुपर्छ भन्ने कुरा हामी राख्छौं । कुन जिल्लामा के समस्या छन्, कहाँ विधानविपरीत काम भइरहेका छन् भन्ने कुरा त सबैलाई थाहा छ ।

पार्टीको विधि विधानअनुसार पो क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्नुपर्छ । विधान उल्लंघन गरेर वितरण गरेको क्रियाशीलले वैधता पाउँदैन ।

कांग्रेसमा देखिएको सबैभन्दा ठूलो कमजोरी मूल्य मान्यता र आदर्शको राजनीति छाडेर सत्ताको राजनीतिमा केन्द्रीत हुनु हो ।

अर्को कमजोरी कांग्रेस संस्थागत नै हुन सकेन । प्रजातान्त्रिक पार्टी हो । विधान छ तर कामकारबाही विधिसम्मत तवरले सञ्चालन गर्न सकिरहेको छैन ।

१३ औं महाधिवेशनमा तपाईं सभापति उठ्छु भन्नुहुन्थ्यो । पछि हट्नुभयो । यस पटक के गर्नुहुन्छ ?

१३ औं महाधिवेशनमा उठ्ने भनेको थिएँ । अन्तिमसम्म पनि उठ्ने तयारी नै थियो ।

सबै साथीहरूले रामचन्द्र पौडेल र शेरबहादुर देउवा समकालीन हो । तपाईंहरूको उमेर छ, अर्को पटक हुनुहोला । यस पटक पौडेललाई सहयोग गरौं भनेकोले मैले सहयोग गरेको हो ।

रामचन्द्र दाइले पनि त्यसबेला यस पटक मलाई सहयोग गर्नु अर्को पटक तिमीहरूकै पालो आउँछ भनेको हो ।

यसपटक १३ औं महाधिवेशनजस्तो हुँदैन । सबैले मलाई सभापतिमा तपाईं स्वभाविक उम्मेदवार हो भनेका छन् । कार्यकर्ताले पनि पार्टीको हालत यस्तो छ तपाईंहरूले नेतृत्व नगरे पार्टी कता जाला–जाला भनेका छन् ।

कांग्रेस कमजोर हुँदा कम्युनिष्टको बोलवाला बढेको छ । सरकारले संविधानको भावनाविपरीत काम गर्दैछ ।

प्रजातान्त्रिक प्रणाली जोगाउन पनि कांग्रेसलाई बलियो बनाउनु पर्नेछ । ठिक नेतृत्वको हातमा नगई यो पार्टी जोगिँदैन । १४ औं महाधिवेशनमा सभापति र पदाधिकारीहरू राम्रा मानिस ल्याएर पार्टीलाई संस्थागत गरी चुनौतीलाई सशक्त तवरले सम्बोधन गर्नुपर्छ ।

यहाँको कुरा सुन्दा पार्टीको नेतृत्व मैले गर्न सक्छु भन्ने खालको देखियो । महाधिवेशन जित्न टिम पनि चाहिएला नि ?

अधिवेशनका लागि राम्रो टिम चाहिन्छ । विभिन्न चरणमा यसबारे बैठक भइरहेका छन् । यो सजिलो काम होइन । धेरैको इच्छा छ, मिलाउनु पर्नेछ । समय आएपछि ठिक मानिस ठिक ठाउँमा राखेर प्रभावकारी टिम हामी प्रस्तुत गर्छौ । यसको गृहकार्य भइरहेको छ ।

वरिष्ठ नेता पौडेललाई पनि मनाउनुहुन्छ ?

साथीभाइहरू बसेर सल्लाह गर्छन् । महाधिवेशन प्रतिनिधि आउँलान् उनीहरूको विचार लिइन्छ । टिम राम्रो बनाउन महाधिवेशन प्रतिनिधिको पनि विचार सुन्नुपर्छ ।

कतिपयले १४ औं महाधिवेशनमा नयाँ गुट जन्मिन्छ, पुरानो गुट यथावत् रहँदैन भनेका छन् । योसँगै कांग्रेसमा तीन ‘राजकुमार’को चर्चा हुने गरेको छ । तपाईं, विमलेन्द्र निधि र शशांक कोइराला मिल्न सक्नुहुन्छ ?

को राजकुमार थाहा छैन । म त राजकुमार हुँदै होइन । म त तलैदेखि लड्दै भिड्दै आएको मानिस हुँ । राजकुमार त केही नगरी राजाका छोरा राजकुमार हुने हो । राजतन्त्र नै हटाइसकेको छ भनेपछि पार्टीमा युवराजको कन्सेप्ट कसले ल्यायो ? म त मेरो कामअनुसार राजनीतिमा टिकिरहेको छु ।

कुन राजकुमारलाई इंगित गरेको थाहा भएन । म त पार्टीको कार्यकर्ता हुँ । पार्टीका सबै कार्यकर्तासरह सबै संघर्षमा भाग लिएको छु । मैले गर्न पर्ने जिम्मेवारी पूरा गरेको छुजस्तो लाग्छ ।

मैले निधि, कोइराला र सिंहको कुरा किन उठाएको भने कांग्रेसमा गुट झांगिएको छ । गुट अन्त्य गर्न योगदान दिन सक्नुहुन्छ ?

गुट झांगिने कुरा सभापतिमा भर पर्छ । त्यही भएर म नम्बर वान म्यान हुन चाहिरहेको छु ।

मैले देखेको छु कि, ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसले गर्दा नेपाली कांग्रेस कता पुग्यो, पुग्यो ।

नेपाली कांग्रेसलाई केन्द्रविन्दुमा राखेर आगामी दिन अगाडि बढाउनु पर्छ । सभापति ठिक मानिस आयो भने काम राम्रो हुने रहेछ । टिम राम्रो तर सभापति राम्रो भएन भने पनि काम नहुने रहेछ ।

पार्टीलाई सही अर्थमा संस्थागत गरियो भने तेरो–मेरो हुँदैन । पार्टी विधान, नियमअनुसार बैठक
हुन्छ । अहिले त कागजमा मात्रै काम सीमित छ । टिकट वितरणमा जे मन लाग्यो त्यो गरिदिएको छ । अनि जनताले कहाँबाट भोट दिन्छ ?

यहाँ पार्टीको जिल्ला सभापतिदेखि केन्द्रीय उपसभापतिसम्म हुनुभयो । अब उठ्ने भनेको सभापतिमै होला नि !

दाबेदार के ? सबैले भन्छन् नेचुरल रूपमै सभापतिको उम्मेद्वार भइसकेँ । म डबल, त्रिपल प्रमोसन मागिरहेको होइन । सबै पुगिसकेको छ । सभापति उम्मेदवार त स्वभाविक भइसक्यो । टिम राम्रो गर्नका लागि सबै बसेर कुरा गरौं भनिरहेको छु । एक्लै त गर्न सकिने होइन ।

युवालाई कांग्रेसको नेतृत्वमा पुर्याउनुपर्छ भन्ने बहस छ । चर्चामा रहेका विश्वप्रकाश शर्मा, गगन थापाहरूलाई समेटेर लैजाने छलफल केही गर्नुभएको छ ?

यो प्रजातान्त्रिक पार्टी हो । गुटले गर्दा राम्रो काम गरेकाहरू पनि अवसर पाइरहेको छैन । निष्पक्ष रूपमा महाधिवेशन भयो भने राम्रो मानिसहरू आउँछन् । त्यो आउने वातावरण बनाउनु पुर्यायो ।

जो सक्षम छ, जसले कार्यकर्ताको विश्वास जितेको छ उसलाई आउन दिनपर्छ । युवामात्रै के महिला, दलित, जनजाति सबैबाट आउँछ ।

पार्टीभित्रका विवादका पनि कुरा गरौं । सभापति शेरबहादुर देउवा एकलौटी हिसाबले अगाडि बढेको हो ?

जुन महाधिवेशनबाट उहाँ सभापति हुनुभयो त्यो विधानले महाधिवेशन सकिएको दुई महिनाभित्र पार्टीका संरचना गठन गरिसक्नुपर्छ भन्छ ।

चार वर्षे नियमित कार्यकाल सकेर कामचलाउ भइसकेपछि र महाधिवेशनको मिति तोकेपछि विभाग गठन गर्नु भनेको विधानअनुसार होइन ।

दुई महिनाभित्र गर्नुपर्ने काम किन गर्नु भएन ? मिलाउने प्रयास गर्दागर्दा ढिला भएको उहाँहरू भन्नुहुन्छ । मिलाउने प्रयास हो भने अहिले पनि मिलाएर गर्न सक्नुपर्थ्यो ।

सुशील कोइराला सभपाति हुँदा विभाग गठनमा केही ढिला हुँदा शेरबहादुरजीले विरोध गर्नुभयो । अहिले हामीले जे भनेको त्यो बेला उहाँले त्यही भन्नुभएको हो । उहाँ पार्टीको सत्तामा पुगेपछि अपोजिसनमा भएका बेला उठाएका कुरा बिर्सन हुन्छ ?

विधि र प्रक्रिया पूरा नगरेर गठन गरेको विभागले के काम गर्छ ? महाधिवेशन आइसक्यो । पद बाँडेर भोट बढ्छ भन्ने सभापतिलाई लागेको होला । जो मनोनित भएर बसेको छ उसको त कार्यकर्ताले मूल्यांकन गर्छन् ।

देउवासँग असन्तुष्ट नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकमा हस्ताक्षर बुझाउने तयारी गरेका छन्, यसबारे केही थाहा छ ?

थाहा छ । बैठक भइरहेका छन् । कुन–कुन जिल्लामा क्रियाशील सदस्यता वितरणमा गर्न नहुने काम गरिरहेका छन् त्यो पत्ता लगाउने, समायोजन कुन जिल्लामा भएका छैन र अरू पार्टीबाट आएकालाई अन्धाधुन्द किसिमले क्रियाशील वितरण भइरहेको छ सबै कुरा बैठकमा राख्छौं ।

विधिअनुसार ठिक नभएका कुरा त कसैले न कसैले त राख्नुप¥यो नि । मेरो कुरा के हो भने फागुनमै महाधिवेशन गर्न सकिन्छ । जो पदमा छन् उनीहरूले अनावश्यक किचलो र विधान मिचेर काम नगरे भने समयमै महाधिवेशन गर्न सकिन्छ ।

प्रतिपक्षको भूमिकाबारे पनि कुरा गरौं । तपाईं त सांसद पनि हो । प्रतिपक्ष प्रभावकारी भएन भन्ने आलोचना छ ?

संसदमा हामी आवाज उठाइरहेका छौं । वाइड बडीका कुरा कसले उठाएको ? कांग्रेसले नै हो । गुठी विधेयकलगायतमा कांग्रेसले आवाज उठाएको छ ।

तर जनताहरूले संसदमा प्रमुख प्रतिपक्ष दलका नेता बोलेको छ कि छैन हेर्दा रहेछन् । अरूले जतिसुकै बोले पनि प्रतिपक्ष दलको नेताको उपस्थिति हेर्दो रहेछ । उहाँलाई नदेखेपछि प्रतिपक्ष कमजोर भयो भनेको होला ।

लामो समयदेखि संसद स्थगित छ । खोल्न दबाब किन दिनुहुन्न ?

यसबारे संसदीय दल र नेताले काम गर्ने हो । हामीले भनिरहेका छौं ।

सरकारको छोटो समीक्षा गरौं । केपी शर्मा ओली नेतृत्वको सरकारले कस्तो काम गरिरहेको छ ?

कोरोना महामारी भइरहेको छ । जनताको जीउ ज्यानको सुरक्षामा सबै चिन्तामा छन् तर सरकार कुर्सी र शक्तिकै खेलमा व्यस्त छ ।

स्वास्थ्य सामग्रीमा पनि ठूलै घोटला भएको र प्रधानमन्त्रीकै नजिकका मानिसले गरेको भन्ने छ ।

प्रधानमन्त्रीले बोल्दा म भ्रष्टाचार गर्न पनि दिन्नँ, सहँदैन भन्नुहुन्छ । तर वाइड बडीका कुरामा उहाँ नै न्यायाधीश जस्तो गरेर त्यो मन्त्रीले गरेको छैन भनिदिनुभयो ।

ललिता निवास जग्गा प्रकरणमा उहाँकै नेताहरू संलग्न रहेको कुरा आयो तर केही गर्न सक्नुभएन । पोलिसी र एकपछि अर्को काण्डमा सरकार फसेको छ ।

जनताले दुई तिहाइ मत दिए पनि काम गर्न सकेन । सरकारको ध्यान आफ्नै पार्टीभित्र पक्षपोषण गर्नेमा केन्द्रीत छ ।
.सेतोपाटीबाट