स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता

८ असोज, स्याङ्जा । लगातार आइरहेको पानीले गर्दा स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् ।

अझै घर माथिबाट बगिरहेको पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएको बुझिएको छ ।