रिक्त बाँकी संबैधानिक निकायहरुमा छिटो नियुक्ती गर्न नेकपा सचिवालयको आग्रह प्रधानमन्त्रीलाई

६ असोज, काठमाडौं । आज बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायहरूमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्त गर्न आग्रह गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

’संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानुनले नै मापदण्ड बनाएको छ । त्यसकै आधारमा रहेर संवैधानिक परिषद्ले निर्णय गर्छ,’उनले भने,’संवैधानिक परिषद्को बैठक छिटो बोलाउन हामीले प्रधानमन्त्रीलाई आग्रह गरेका छौं ।’

सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझै सुदृढ बनाएर सरकारको विश्वसनियता अझै बढाउन बैठक सफल भएको उनले बताए ।

राजनीतिक नियुक्ति गर्दा पार्टीभित्र छलफल हुने र संवैधानिक निकायको नियुक्ति गर्दा संवैधानिक परिषदको बैठकमा संविधान र कानुन अनुसार छलफल हुने उनले बताए ।

यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदरको माग गर्दै परेको रिटबारे सर्वोच्च अदालतले सरकारलाई औपचारिक जानकारी नगराएको उनले बताए ।