बिपक्षी दलहरु एकजुट भएर इमरान खानको राजीनामा माग

एजेन्सी

६ असोज, काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरूद्धमा विपक्षी दलहरू एकजुट भएका छन् ।

उनीहरूले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरूले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरूको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् ।

सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू सहभागी भएका थिए ।

गठबन्धनमा आबद्ध दलहरूले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र वाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए ।

गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ ।

उनीहरूले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरू गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरू उनीहरूले लगाएका छन् ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरूका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए ।