उडान खुलेसँगै तोकियो भाडादर

४ असोज, काठमाडौं । सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ । एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ ।

सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन् ।

एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ । जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्। तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन् ।

कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो ।

बुद्ध एयरले नेपालगञ्जका लागि खुलाएको बुकिङमा भोलिका लागि ५५ सय भाडादरमा अहिले टिकट उपलब्ध भइरहेको छ भने यति एयरलाइन्सको ४३ सय तोकेको छ ।

नेपालगञ्जको अधिकतम भाडा ११ हजार रुपैयाँसम्म लिने गरिएको छ । यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ ।

यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ । यदि बुकिङ सकिन लाग्यो भने भाडा बढ्दै
जान्छ । र खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ ।