’सेल्फ आइसोलेसन मा नबस्नेलाई १० हजार पाउण्डसम्मको जरिमाना

एजेन्सी

४ असोज, काठमाडौं । बेलायतले ’सेल्फ आइसोलेसन मा नबस्नेलाई १० हजार पाउण्डसम्मको जरिमाना गर्ने घोषणा गरेको छ । पछिल्लो विनिमयदर अनुसार यो जरिमाना १५ लाख नेपाली रूपैयाँ भन्दा बढी हुन आउँछ ।

घोषणा अनुसार कोरोना पोजेटिभ पाइएका र ट्रेसिङका क्रममा संक्रमितको निकटमा आएका सबैजना ’सेल्फ आइसोलेसन मा बस्नुपर्नेछ। यो नियम सेप्टेम्बर २८ बाट लागु हुनेछ ।

बिबिसीका अनुसार नयाँ सुरक्षा सावधानीमा निम्न आय भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ। यस्तै ’सेल्फ आइसोलेशन मा बसेकालाई कारवाही गर्ने रोजगारदातालाई जरिमाना तिराइनेछ ।

शनिबार बेलायतमा कोरोनाका ४ हजार ४ सय २२ नयाँ संक्रमित फेला परेका थिए भने २७ जनाको मृत्यु भएको छ ।

स्टकल्याण्डमा ३ सय ५० नयाँ संक्रमित फेला परेको छन्, जुन मे यताकै सर्वाधिक दैनिक संख्या हो ।

यस्तै वेल्स र उत्तरी आयरल्याण्डमा क्रमशः २१२ र २२२ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ कानुन अनुसार ’सेल्फ आइसोलेसन मा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिमाना तिर्नुपर्नेछ भने पटके उल्लघंनकर्ताका लागि यो जरिमाना १० हजार पाउण्डसम्म हुनसक्नेछ ।

बेलायतमा अहिलेसम्म ’सेल्फ आइसोलेसन लाई एउटा निर्देशनका रूपमा मात्र राखिएको थियो, दण्डनीय बनाइएको थिएन ।

नयाँ नियमको घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोना भाइरस विरूद्धको लडाईंका लागि उत्कृष्ट तरिका भएको बताएका छन् ।

जोनसनले शुक्रबार बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउनसक्ने भन्दै अहिलेकै अवस्थामा पनि लहरको अनुभव गर्न थालिएको बताएका थिए ।

कोरोनाको कम जोखिम भएका भनेर सूचिकृत गरिएका बाहेकका मुलुकबाट बेलायत आउने सबैले १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम बेलायतले बनाएको छ ।