बाहानाबानी चाहिदैन, शिक्षक निकाल्न पाइदैन

३ असोज, काठमाडौं । गएको चैत्र ११ गतेदेखि कोरोना भाइरसको संक्रमण रोकथामका भनेर सरकारले लगाएको लकडाउन र पुन लगाइएको निषेधाज्ञाले गर्दा विगत ५ महिनादेखि बन्द अवस्थामा रहेकाछन् शैक्षिक संस्था । महामारी सुरु भए यता सरकारी संस्थाका शिक्षकले नियमित तलब पाइरहेका भए पनि नीजि क्षेत्र बोडिङ विद्यालयमा कार्यरत तीन हजार शिक्षक–कर्मचारीको रोजगारी गुमेको छ ।

गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक–कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेका छन् ।

अधिकांश शिक्षक कर्मचारीहरूले पछिल्लो ६–७ महिनादेखि तलब नपाईरहेको थापा बताउँछन् । केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला बोर्डिङले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ ।

चैतमा लकडाउन सुरु भए पनि शिक्षकहरू उत्तरपुस्तिका जाँच्ने, परीक्षाको नतिजा तयार पार्ने, अनलाइन कक्षाको तयारी आदि जस्ता विद्यालयकै काममा व्यस्त छन् । तर बिद्यालयले शिक्षकको अहिलेसम्म तलब र सुविधा दिएको छैन । त्यसैको विषयमा आज बोडिङ स्कुलका शिक्षकहरु आन्दोलित भएका छन् ।