गुप्ता र श्रेष्ठमाथि प्रहरीको ज्याजदी र कुटपिटउपर छानबिन समिति गठन

३ असोज, काठमाडौं । काठमाण्डौको माइतीघर मण्डलामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति माग्दै प्रदर्शनमा निस्केकामाथि भएको प्रहरी कुटपिटउपर छानविन समिति गठन भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले असोज १ र २ गते भएका दुई घटनाको अनुसन्धानका लागि आज शनिबार समिति गठन गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।

उनका अनुसार समितिमा प्रहरी नायब उपरीक्षक राजेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल समेत रहेका छन् ।

समितिलाई एक सातासम्म दुवै घटनाको छानविन गरी दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न कार्यादेश दिइएको छ ।
असोज १ गते बबरमहलमा हन्ड्रेड गु्रपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपिट गरेको थियो । घिसिङको समर्थनमा आएकाहरूलाई नियन्त्रण गर्ने क्रममा गुप्तालाई प्रहरीले कुटपिट गरेको थियो ।

यस्तै, शुक्रबार घिसिङको समर्थनमै बुद्धनगरमा निस्केका उक्त गु्रपकै सदस्य मनिष श्रेष्ठको प्रहरीले टाउको फुटाइदिएको थियो । प्रहरीले भाग्ने क्रममा उनी लडेर घाइते भएको बताए पनि भिडिओमा भने प्रहरीले टाउकोमा लाठीले हिर्काएको देखिएको थियो ।